Tuesday, September 23, 2008

अर्को जनयुद्ध हुने यादबको चेतावनी

तामाङ न्यूज, २०६५ असोज ७ मंगलबार

सिराहा मिर्चैयामा गरिवहरुलाई घर बनाउन नदिए त्यहीँबाट अर्को जनयुद्ध सुरु हुने माओवादी नेता मात्रृका यादवले चेतावनी दिएका छन् ।
भूमिसुधार मन्त्रीबाट राजीनामा दिएका माओवादी केन्द्रीय सदस्य मातृका यादवले सिराहा मिर्चैया घटनाले धेरैलाई नाङ्गेझार पार्ने दावी गरेका छन् । असोज ७ गते जनकपुरमा माओवादीको स्थानीय कमिटीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यादवले भने , 'मिर्चैया घटनाले धेरैको चरित्र प्रष्ट पारे पनि उनीहरुलाई नाङ्गेझार पार्न बाँकी छ, त्यही अभियानमा म लागेको छु ।' यादवले कसको चरित्र स्पष्ट पारेको तथा कसलाई नाङ्गेझार पार्न आफू लागेको भन्ने भने पत्रकार सम्मेलनमा खोलेनन् । कार्यक्रममा माओवादीका धनुषा, महोत्तरी, सिराहा र सप्तरी जिल्ला इन्चार्जहरुको उपस्थिति थियो ।
यादवले मिर्चैयामामा आफूले कब्जा गरेको ब्यक्तिगत जमिनमा गरिवहरुको घर बनेरै छाड्ने पनि दावी गरे । यादवले गरिवको घर बन्दा कसैले अवरोध पुर्‍याए त्यही ठाउँ जनयुद्धको अर्को केन्द्र बन्ने उल्लेख गरे ।
यता, माओवादी भातृ संगठन मधेसी राष्ट्रिय मुक्ति मोर्चाले भू-माफिया बिरुद्ध असोज ८ गतेदेखि धनुषा, महोत्तरी, सर्लाही, सिराहा, सप्तरी र सुनसरीमा आन्दोलनको घोषणा गरेको छ । आन्दोलनको कार्यक्रम अनुसार, असोज ८ गते ती ६ जिल्लाका जिल्ला प्रशासन कार्यालयमा एक घण्टा कालोझण्डा देखाउदै धर्ना दिइनेछ ।

0 comments: