Thursday, April 24, 2008

अझै निर्णय नभएको

संविधानसभा चुनावबाट सबैभन्दा ठूलो दल बनेको माओवादीको नेतृत्वमा बन्ने सरकारको नेतृत्व कुन नेताले गर्ने भन्नेबारे अझै निर्णय नभएको माओवादीका एक जना वरिष्ठ नेताले बताएका छन् । यसअघि माओवादी अध्यक्ष प्रचण्डले आफ्नै नेतृत्वमा सरकार बन्ने सार्वजनिक घोषणा गरेका थिए ।
माओवादीको केन्द्रीय सचिवाल सदस्य तथा अर्घाखाँचीबाट संविधानसभा सदस्यमा निर्वाचित टोपबहादुर रायमाझीले हिमालखबर डट कमसँग कुरा गर्दै पार्टी अध्यक्ष प्रचण्ड राष्ट्र प्रमुख बन्ने निश्चित भए पनि सरकारको नेतृत्व कसले गर्नेबारे पार्टीले अझै निर्णय गर्न बाँकि रहेको उल्लेख गरे । 'हाम्रो नेतृत्वमा सरकार बन्ने, त्यसमा अन्य दललाई सामेल गराउने, संविधानसभाको पहिलो बैठकबाट राजतन्त्रको अन्त्य गर्ने स्पष्ट भइसकेको छ तथा अध्यक्ष प्रचण्ड राष्ट्रप्रमुख बन्ने पनि निश्चित छ' पार्टको रणनीति खुलाउदै रायमाझीले भने, 'सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे भने पार्टी केन्द्रीय समितिको बैठकको निर्णय पछि मात्र निश्चित हुनेछ ।' संविधानसभा चुनावमा माओवादीले अध्यक्ष प्रचण्डलाई भावी राष्ट्रपतिका रुपमा प्रचार गरेको थियो भने अर्का नेता डा. बाबुराम भट्टराईलाई सरकार प्रमुख तथा प्रधानमन्त्रीका रुपमा हेरिएको थियो ।

Tuesday, April 22, 2008

राजनीतिक भेटघाट तीव्र

माओवादी अध्यक्ष प्रचण्डले राजनीतिक भेटघाट तीव्र पारेका छन् । प्रचण्डले बिहीबार कांग्रेस र एमालेका नेतालाई आगामी सरकारमा सहभागी हुन प्रस्ताव पनि गरेका छन् । वामबुद्धिजीवीसँगको अन्तर्त्रिmयामा उनले माओवादीले नेतृत्व गर्ने आगामी सरकारका सम्भावित चुनौतीबारे छलफल गरेका छन् । प्रचण्डले कांग्रेस, एमालेलगायत दलबीच हार्दिकताका साथ आगामी सत्ता बाँडफाँड हुने बताएका छन् । उनले जनताको जनादेशअनुसार सरकारको नेतृत्व परिवर्तन भए पनि संयुक्त सरकार गठन गर्न माओवादीले पहल गरिरहेकोसमेत उल्लेख गरे । 'आगामी सरकार अनिर्णयको बन्दी हुने छैन्,' वामबुद्धिजीवीसँग बुधबार भएको तीनघन्टा लामो अन्तक्रिर्यामा प्रचण्डले भने, 'शक्ति सन्तुलनको स्थिति सहमतीय हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।' सातदलीय गठबन्धन तथा चुनावी जनादेशप्राप्त अन्य दलबीच सहकार्य र सहअस्तित्वका लागि माओवादी तयार रहेको पनि प्रचण्डको भनाइ थियो । 'शान्तिप्रक्रिया अघि बढाउन र नयाँ संविधान निर्माण गर्न दलबीच विगतमा जस्तै सहकार्य आवश्यक छ,' प्रचण्डले भने, 'हाम्रा अगाडि रहेका चुनौतीको सामना पनि सामूहिक प्रयत्नबाट मात्रै हल गर्न सकिन्छ ।' चुनावमा हारजित महत्त्वपूर्ण नभएको बताउँदै प्रचण्डले सबै दलबीच सहकार्यको आवश्यकता थप महसुस भएको उल्लख गरे । अन्तर्राष्ट्रिय समुदाय माओवादीप्रति विश्वस्त हुन नसकेको भन्दै प्रचण्डले त्यसका लागि पनि दलबीच एकता र सहकार्य आवश्यक रहेको बताए । संविधान निर्माण गर्न दलहरू मिलेर नगए प्रतिक्रान्तिको खतरा आउन सक्ने प्रचण्डले बताए । 'त्यसप्रति हामी सचेत छौँ,' उनको भनाइ थियो ।प्रचण्डले मधेसी दलसँग पनि राजनीतिक छलफल सुरु गरेको जानकारी दिएका थिए । 'मधेसी नेतासँग पनि मैले कुरा सुरु गरेँ,' प्रचण्डले भने, 'उपेन्द्र यादवसँग पनि छलफल सुरु गरेको छु । अहिलेसम्म सकारात्मक स्थिति बनिराखेको छ ।' माओवादीको नेतृत्वमा गठन हुने 'संयुक्त सरकार' को पहिलो प्राथमिकता संवैधानिक संरचना निर्माण गर्ने भएको बताउँदै उनले भने, 'दैनिक जनजीवनमा आइपर्ने समस्यालाई पनि हल गर्नुपर्छ, तर मुख्य प्राथमिकता यो हुने छैन ।' बिहीबार अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता डा. बाबुराम भट्टराईले एमाले नेता माधवकुमार नेपाल र गृहमन्त्री कृष्णप्रसाद सिटौलासँग भावी सरकार गठनबारे छलफल गरेका थिए । 'प्रधानमन्त्रीले पनि माओवादीको नेतृत्वमा बन्ने सरकारलाई सहयोग गर्न तयार छु भन्नुभएको छ,' प्रचण्डले बुद्धिजीवीमाझ भने, 'परामर्श भइरहेको छ ।' प्रधानमन्त्रीसँग सरकार गठनका विषयमा शुक्रबार पनि कुराकानी हुने प्रचण्डले जानकारी दिए ।प्रचण्डले नयाँ संविधान निर्माणका लागि बाहिरै बसेर भए पनि सक्रिय सहभागिता जनाउन एमाले नेता नेपाललाई आग्रह गरेको खुलासा गरे । 'शान्तिप्रक्रियामा हामी, गिरिजाबाबु, माधवजी र नागरिक समाजको भूमिका उत्तिकै छ, त्यसकारण सहकार्य गरौँ भन्ने मैले प्रस्ताव राखेँ,' प्रचण्डले बुद्धिजीवीसँग भने, 'माधवजीले पार्टी नेतृत्व छाड्नै पर्ने थिएन । पार्टीको केन्द्रीय कमिटीको निर्णयअनुसार भावी सरकारमा जाने-नजानेबारे निर्णय हुन्छ भन्नुभो माधवजीले । हामी आशावादी छौँ ।' प्रचण्डले शान्तिप्रक्रिया पूरा हुन बाँकी रहेकाले सरकारमा सहभागी हुनुपर्ने प्रस्ताव राखेको पनि बताएका थिए । 'जनादेशलाई सम्मान गर्दै नैतिकताका आधारमा राजीनामा दिनुभो, यसमा मेरो केही भन्नुछैन,' एमाले नेता नेपालसँग प्रचण्डको भनाइ थियो, 'सबै मिलेर सरकार चलाऊँ, शान्तिप्रक्रियालाई पूर्णता दिऊँ भन्ने हाम्रो प्रस्ताव थियो ।' यसअघि बिहीबार बिहान गृहमन्त्री कृष्णप्रसाद सिटौलाले माओवादी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता डा. बाबुराम भट्टराईसँग प्रचण्डनिवासमा छलफल गरेका थिए ।अन्तर्क्रियामा वामबुद्धिजीवी पद्मरत्न तुलाधार, डा. सरोज धिताल, श्याम श्रेष्ठ, चैतन्य मिश्र, डा. भरत प्रधान, महेश्वरमान श्रेष्ठ, डा. शरद वन्त, डा. पिताम्बर शर्मा, कृष्ण पोखरेल, हेमबहादुर विष्ट, विष्णुहरि ढकाल, विनोद ढुंगेललगायत सहभागी थिए । यसैबीच माओवादी अध्यक्ष प्रचण्डले माओवादीका सहिद र बेपत्ता परिवारसँग छलफल गरेका छन् ।

Sunday, April 20, 2008

राजा राख्ने पक्षमा छैनौं,'

माओवादी नेता रामबहादुर थापा बादलले राजाले दरबार छाड्न इन्कार गरे कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएका छन् । 'हामी यो वा त्यो रूपमा राजा राख्ने पक्षमा छैनौं,' उनले भने, 'अब राजालाई पशुपतिनाथले पनि बचाउने छैनन्, विनाक्षति उनी बिदा होऊन् भन्नेमात्रै हाम्रो चाहना हो ।' सम्मानजनक बिदाइका लागि माओवादीले राजा ज्ञानेन्द्रसँग भेट गर्न चाहेको उनले खुलासा गरे । 'हामी राजालाई खुला रूपमा भेट्दैछौं,' उनले भने । 'दुई तरिकाले गणतन्त्र कार्यान्वयन हुनेछ,' रिपोर्टर्स क्लबमा आइतबार बादलले भने, 'पहिले राजालाई नारायणहिटीबाट बहिगर्मनको आदेश दिन्छौं, त्यसपछि राष्ट्रप्रमुखको चयन गर्छौं ।' नागरिकको हैसियतमा पुगेपछि राजाले चाहे माओवादीको सदस्यता दिन सकिने पनि बादलले बताए । 'कम्युनिस्ट विचारधारा मान्नुपर्छ,' पत्रकारहरूको जिज्ञासामा उनले भने, 'राजालाई पनि भोलि हामी सदस्यता दिन तयार छौं ।' दुवै सेनाको एकीकरण गरेर नयाँ राष्ट्रिय सुरक्षानीति बनाइने र त्यसका आधारमा नयाँ सेना निर्माण हुने बादलले उद्घोष गरे । 'नयाँ राष्ट्रिय सेनाको आकार सानो हुनुपर्छ,' बादलले भने, 'आमजनतालाई फौजी तालिम र फौजी चेतना दिइनुपर्छ ।' प्रधानसेनापति रुक्मांगद कटुवालमाथि तत्काल कारबाही नहुने उनले बताए । 'कुनै कर्मचारीले अपराध गरेको छ भने प्रधानसेनापतिमाथि पनि कारबाही हुनुपर्छ,' उनले भने, 'तर, सेवाअवधि पूरा गर्न पाउनुपर्छ ।' माओवादीको नेतृत्व र सबै अग्रगामी शक्तिहरूको संयोजनमा संयुक्त अन्तरिम सरकार निर्माण हुनुपर्ने उनको भनाइ थियो । राष्ट्रिय हितमा नरहेका १९५० को नेपाल-भारत सन्धिलगायत असमान सन्धिको पुनरावलोकन गरी नयाँ आधारमा नयाँ सन्धि-सम्झौता गर्नुपर्ने पनि बादलको भनाइ थियो । नेपाली सेना र माओवादी सेनाबीच एकीकरण नभएसम्म राष्ट्रसंघीय नेपाल मिसन अनमिन आवश्यक रहेको उनको भनाइ थियो । 'दलहरूबीच सहमति भए अनमिनलाई बिदा दिन पनि सकिन्छ,' उनले भने, 'तर, अहिले नै हटाइहाल्ने बेला भएको छैन

Wednesday, April 16, 2008

केन्द्रीय नेता पराजित

संविधानसभा चुनावमा उम्मेदवार बनेका नेकपा एमाले र नेपाली कांग्रेसका अधिकांश केन्द्रीय नेता पराजित भएका छन् । पार्टीभित्र प्रभावशाली भूमिका खेल्ने मात्रै होइन, आफ्नो क्षेत्रका जनतामाझ पनि लोकपि्रय रहेको बताउँदै आएका नेता चुनावी मैदानमा भने निकै कमजोर देखिएका छन् ।विगतमा भएका संसदीय चुनावमा लगातार जित्दै आएका र आफ्नो पार्टीभित्र प्रभावशाली मानिने दर्जनभन्दा बढी नेतालाई जनताले यसपटक भने पत्याएनन् । इतिहासमै पहिलोपटक भएको संविधानसभा चुनावमा उनीहरूले नराम्रो पराजयको सामना गरे ।२०४८, ०५१, ०५६ मा लगातार चुनाव जित्दै आए पनि एमाले नेताहरू भरतमोहन अधिकारी, केपी ओली, विद्या भण्डारी, कांग्रेस नेताहरू गोविन्दराज जोशी, खुमबहादुर खड्का, चिरञ्जीवी वाग्लेलगायतले यसपटक 'चुनावी हार' खेप्नुपर्‍यो । प्रत्यक्ष चुनावमा भिडेका एमालेका ४० केन्द्रीय नेतामध्ये १० जनाले मात्रै चुनाव जितेका छन् । त्यस्तै, ६३ सदस्यीय कांग्रेस केन्द्रीय कार्यसमितिका अधिकांश नेता चुनावी मैदानमा उत्रिएका थिए । तर, १६ जनाले मात्रै विजय हात पारेका छन् । प्रत्यक्ष चुनावमा उम्मेदवार बनेका माओवादीका १६ केन्द्रीय नेतामध्ये एक जनाले पराजय भोगेका छन् ।कांग्रेस र एमालेका प्रमुख नेताले नै पराजय भोगेका छन् । गृहजिल्ला रौतहट र काठमाडौं गरी दुई क्षेत्रबाट उम्मेदवार बनेका एमाले महासचिव माधवकुमार नेपाल र बाँकेको ३ नम्बरबाट चुनावी मैदानमा उत्रिएका कांग्रेसका कार्यवाहक सभापति सुशील कोइराला पराजित भएका छन् । महासचिव नेपालसँगै १५ सदस्यीय एमाले स्थायी समितिका ११ जना प्रत्यक्ष चुनावमा भिडेका थिए । जसमध्ये झलनाथ खनालले इलाम- १ र विष्णु पौडेलले रुपन्देही- ७ बाट चुनाव जितेका छन् । भरतमोहन अधिकारी, केपी ओली, वामदेव गौतम, ईश्वर पोखरेल, युवराज ज्ञवाली, प्रदीप नेपाल, केशव बडाल, अशोक राईले नराम्रो पराजय बेहोरेका छन् ।कांग्रेसका कार्यवाहक सभापति कोइराला भने आफ्नो पार्टीमा महामन्त्रीभन्दा माथिका पदाधिकारीमा चुनाव हार्ने एक्ला नेता हुन् । तर, हार्ने केन्द्रीय सदस्यहरूको सूची भने लामै छ । माओवादीको पोल्टामा गएको चुनावी नतिजाले सबैलाई चकित बनाएको छ । कांग्रेस उपसभापति गोपालमान श्रेष्ठले नयाँ पत्रिकासित भने- 'चुनावको परिणामले हामीलाई निराश बनाएको छ । अचम्मलाग्दो भएको छ ।' एमाले स्थायी समितिबाहेकको ५४ सदस्यीय केन्द्रीय कमिटीका २८ जना प्रत्यक्ष चुनावको मैदानमा उत्रिएका थिए । उनीहरूमध्ये आठ जनाले मात्रै चुनाव जितेका छन् । चुनाव जित्ने एमाले केन्द्रीय सदस्यमा प्रदीप ज्ञवाली, रामनाथ ढकाल, पृथ्वी सुब्बा गुरुङ, भानुभक्त जैसी, किरण गुरुङ, सुवास नेम्बाङ, रामचन्द्र झा र भीम आचार्य छन् । बाग्लुङ- १ बाट उम्मेदवार बनेका रामजी शर्माको भने चुनावी परिणाम आउन बाँकी नै छ ।त्यस्तै, चुनाव जित्ने कांग्रेस नेतामा शेरबहादुर देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, कुलबहादुर गुरुङ, विमलेन्द्र निधि, डा. रामवरण यादव, डा. रामशरण महत, नरहरि आचार्य, बालकृष्ण खाँड, दीपकुमार उपाध्याय, पूर्णकुमार शेर्मा, शशांक कोइराला, उमाकान्त चौधरी, अर्जुनप्रसाद जोशी र सुप्रभा घिमिरे हुन् । नुवाकोटबाट चुनाव लडेका सहमहामन्त्री अर्जुननरसिंह केसी र सिराहाबाट उम्मेदवार बनेकी चित्रलेखा यादवको भने चुनावी नतिजा आउन बाँकी नै छ ।'कसले हार्‍यो कसले जित्यो भन्दा पनि चुनाव सम्पन्न भयो त्यो ठूलो कुरा हो । पार्टीको पराजयका विषयमा समीक्षा गरेर नयाँ ढंगले जनताका माझमा जानु अहिलेको आवश्यकता हो,' कांग्रेस नेता डा. मीनेन्द्र रिजालले भने ।लामो संसदीय अभ्यास भएका र अन्तरिम संसद्मा ठूला दलका रूपमा रहेका कांग्रेस र एमालेले गरेको आँकलनको ठीक विपरीत चुनावी नतिजा आएको छ । संविधानसभामा ठूलो दल बन्ने दुवै पार्टीको आन्तरिक 'रिपोर्ट' थियो । आफ्नो नेतृत्वमा चुनावमा गएको एमालेले नराम्रो पराजय भोगेपछि एमाले महासचिव नेपालले नैतिकताका आधारमा राजीनामा दिइसकेका छन् । कांग्रेस कार्यवाहक सभापति कोइरालाले पनि चुनावी परिणामपछि आफूलाई पदमा बसिरहन नैतिकताले नदिने भन्दै राजीनामा दिइसकेका छन् ।मंगलबार रातिसम्म कांग्रेसले ३३ र एमालेले ३० ठाउँमा जित हात पारेको छ । माओवादीले एक सय १६ र मधेसी जनअधिकार फोरमले २० ठाउँमा जित हासिल गरेको छ ।चुनाव हार्ने एमाले नेताहरू१ माधवकुमार नेपाल महासचिव२ केपी ओली स्थायी समिति सदस्य३ भरतमोहन अधिकारी स्थायी समिति सदस्य ४ वामदेव गौतम स्थायी समिति सदस्य५ ईश्वर पोखरेल स्थायी समिति सदस्य६ प्रदीप नेपाल स्थायी समिति सदस्य७ युवराज ज्ञवाली स्थायी समिति सदस्य८ केशव बडाल स्थायी समिति सदस्य९ अशोक राई स्थायी समिति सदस्य१० अष्टलक्ष्मी शाक्य केन्द्रीय सदस्य११ विद्या भण्डारी केन्द्रीय सदस्य१२ गोविन्द कोइराला केन्द्रीय सदस्य१३ काशीनाथ अधिकारी केन्द्रीय सदस्य१४ कृष्णगोपाल श्रेष्ठ केन्द्रीय सदस्य१५ रघुजी पन्त केन्द्रीय सदस्य१६ राजेन्द्र पाण्डे केन्द्रीय सदस्य१७ राजेन्द्र श्रेष्ठ केन्द्रीय सदस्य१८ सिद्धिलाल सिंह केन्द्रीय सदस्य१९ गुरु बराल केन्द्रीय सदस्य२० रघुवीर महासेठ केन्द्रीय सदस्य२१ डिल्लीबहादुर महत वैकल्पिक केन्द्रीय सदस्य२२ गोकर्ण बिष्ट वैकल्पिक केन्द्रीय सदस्य२३ महेन्द्र पाण्डे वैकल्पिक केन्द्रीय सदस्य२४ नरेश खरेल वैकल्पिक केन्द्रीय सदस्य२५ पशुपति चौलागाईं वैकल्पिक केन्द्रीय सदस्य२६ प्रकाश ज्वाला वैकल्पिक केन्द्रीय सदस्य२७ पुरुषोत्तम पौडेल वैकल्पिक केन्द्रीय सदस्य२८ रकम चेम्जेङ वैकल्पिक केन्द्रीय सदस्य२९ रत्नेश्वर गोइत यादव वैकल्पिक केन्द्रीय सदस्य
चुनाव हार्ने कांग्रेस नेताहरू१ सुशील कोइराला कार्यवाहक सभापति२ कृष्णप्रसाद सिटौला केन्द्रीय सदस्य३ नरेन्द्रविक्रम नेम्बाङ केन्द्रीय सदस्य४ महेश आचार्य केन्द्रीय सदस्य५ भीमबहादुर तामाङ केन्द्रीय सदस्य६ शेखर कोइराला केन्द्रीय सदस्य७ सुजाता कोइराला केन्द्रीय सदस्य८ चक्र बाँस्तोला केन्द्रीय सदस्य९ गोविन्दराज जोशी केन्द्रीय सदस्य१० चिरञ्जीवी वाग्ले केन्द्रीय सदस्य११ खुमबहादर खड्का केन्द्रीय सदस्य१२ विनयध्वज चन्द केन्द्रीय सदस्य१३ दिलेन्द्रप्रसाद बडू केन्द्रीय सदस्य१४ एनपी सावद केन्द्रीय सदस्य१५ दिलबहादुर घर्ती केन्द्रीय सदस्य१६ बेनुप प्रसाईं केन्द्रीय सदस्य१७ रामकृष्ण ताम्राकार केन्द्रीय सदस्य१८ ज्ञानेन्द्रबहादुर कार्की केन्द्रीय सदस्य१९ बलबहादुर केसी केन्द्रीय सदस्य२० फरमुल्लाह मन्सुर केन्द्रीय सदस्य२१ गोपालराज पहाडी केन्द्रीय सदस्य२२ पदमनारायण चौधरी केन्द्रीय सदस्य२३ भीष्मराज आङ्दम्बे केन्द्रीय सदस्य२४ जीवनबहादुर शाही केन्द्रीय सदस्य२५ आनन्द ढुंगाना आमन्त्रित केन्दीय सदस्य२६ लीला कोइराला आमन्त्रित केन्द्रीय सदस्य