Tuesday, April 22, 2008

राजनीतिक भेटघाट तीव्र

माओवादी अध्यक्ष प्रचण्डले राजनीतिक भेटघाट तीव्र पारेका छन् । प्रचण्डले बिहीबार कांग्रेस र एमालेका नेतालाई आगामी सरकारमा सहभागी हुन प्रस्ताव पनि गरेका छन् । वामबुद्धिजीवीसँगको अन्तर्त्रिmयामा उनले माओवादीले नेतृत्व गर्ने आगामी सरकारका सम्भावित चुनौतीबारे छलफल गरेका छन् । प्रचण्डले कांग्रेस, एमालेलगायत दलबीच हार्दिकताका साथ आगामी सत्ता बाँडफाँड हुने बताएका छन् । उनले जनताको जनादेशअनुसार सरकारको नेतृत्व परिवर्तन भए पनि संयुक्त सरकार गठन गर्न माओवादीले पहल गरिरहेकोसमेत उल्लेख गरे । 'आगामी सरकार अनिर्णयको बन्दी हुने छैन्,' वामबुद्धिजीवीसँग बुधबार भएको तीनघन्टा लामो अन्तक्रिर्यामा प्रचण्डले भने, 'शक्ति सन्तुलनको स्थिति सहमतीय हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।' सातदलीय गठबन्धन तथा चुनावी जनादेशप्राप्त अन्य दलबीच सहकार्य र सहअस्तित्वका लागि माओवादी तयार रहेको पनि प्रचण्डको भनाइ थियो । 'शान्तिप्रक्रिया अघि बढाउन र नयाँ संविधान निर्माण गर्न दलबीच विगतमा जस्तै सहकार्य आवश्यक छ,' प्रचण्डले भने, 'हाम्रा अगाडि रहेका चुनौतीको सामना पनि सामूहिक प्रयत्नबाट मात्रै हल गर्न सकिन्छ ।' चुनावमा हारजित महत्त्वपूर्ण नभएको बताउँदै प्रचण्डले सबै दलबीच सहकार्यको आवश्यकता थप महसुस भएको उल्लख गरे । अन्तर्राष्ट्रिय समुदाय माओवादीप्रति विश्वस्त हुन नसकेको भन्दै प्रचण्डले त्यसका लागि पनि दलबीच एकता र सहकार्य आवश्यक रहेको बताए । संविधान निर्माण गर्न दलहरू मिलेर नगए प्रतिक्रान्तिको खतरा आउन सक्ने प्रचण्डले बताए । 'त्यसप्रति हामी सचेत छौँ,' उनको भनाइ थियो ।प्रचण्डले मधेसी दलसँग पनि राजनीतिक छलफल सुरु गरेको जानकारी दिएका थिए । 'मधेसी नेतासँग पनि मैले कुरा सुरु गरेँ,' प्रचण्डले भने, 'उपेन्द्र यादवसँग पनि छलफल सुरु गरेको छु । अहिलेसम्म सकारात्मक स्थिति बनिराखेको छ ।' माओवादीको नेतृत्वमा गठन हुने 'संयुक्त सरकार' को पहिलो प्राथमिकता संवैधानिक संरचना निर्माण गर्ने भएको बताउँदै उनले भने, 'दैनिक जनजीवनमा आइपर्ने समस्यालाई पनि हल गर्नुपर्छ, तर मुख्य प्राथमिकता यो हुने छैन ।' बिहीबार अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता डा. बाबुराम भट्टराईले एमाले नेता माधवकुमार नेपाल र गृहमन्त्री कृष्णप्रसाद सिटौलासँग भावी सरकार गठनबारे छलफल गरेका थिए । 'प्रधानमन्त्रीले पनि माओवादीको नेतृत्वमा बन्ने सरकारलाई सहयोग गर्न तयार छु भन्नुभएको छ,' प्रचण्डले बुद्धिजीवीमाझ भने, 'परामर्श भइरहेको छ ।' प्रधानमन्त्रीसँग सरकार गठनका विषयमा शुक्रबार पनि कुराकानी हुने प्रचण्डले जानकारी दिए ।प्रचण्डले नयाँ संविधान निर्माणका लागि बाहिरै बसेर भए पनि सक्रिय सहभागिता जनाउन एमाले नेता नेपाललाई आग्रह गरेको खुलासा गरे । 'शान्तिप्रक्रियामा हामी, गिरिजाबाबु, माधवजी र नागरिक समाजको भूमिका उत्तिकै छ, त्यसकारण सहकार्य गरौँ भन्ने मैले प्रस्ताव राखेँ,' प्रचण्डले बुद्धिजीवीसँग भने, 'माधवजीले पार्टी नेतृत्व छाड्नै पर्ने थिएन । पार्टीको केन्द्रीय कमिटीको निर्णयअनुसार भावी सरकारमा जाने-नजानेबारे निर्णय हुन्छ भन्नुभो माधवजीले । हामी आशावादी छौँ ।' प्रचण्डले शान्तिप्रक्रिया पूरा हुन बाँकी रहेकाले सरकारमा सहभागी हुनुपर्ने प्रस्ताव राखेको पनि बताएका थिए । 'जनादेशलाई सम्मान गर्दै नैतिकताका आधारमा राजीनामा दिनुभो, यसमा मेरो केही भन्नुछैन,' एमाले नेता नेपालसँग प्रचण्डको भनाइ थियो, 'सबै मिलेर सरकार चलाऊँ, शान्तिप्रक्रियालाई पूर्णता दिऊँ भन्ने हाम्रो प्रस्ताव थियो ।' यसअघि बिहीबार बिहान गृहमन्त्री कृष्णप्रसाद सिटौलाले माओवादी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता डा. बाबुराम भट्टराईसँग प्रचण्डनिवासमा छलफल गरेका थिए ।अन्तर्क्रियामा वामबुद्धिजीवी पद्मरत्न तुलाधार, डा. सरोज धिताल, श्याम श्रेष्ठ, चैतन्य मिश्र, डा. भरत प्रधान, महेश्वरमान श्रेष्ठ, डा. शरद वन्त, डा. पिताम्बर शर्मा, कृष्ण पोखरेल, हेमबहादुर विष्ट, विष्णुहरि ढकाल, विनोद ढुंगेललगायत सहभागी थिए । यसैबीच माओवादी अध्यक्ष प्रचण्डले माओवादीका सहिद र बेपत्ता परिवारसँग छलफल गरेका छन् ।

0 comments: